काठमाडौं । प्रख्यात गायिका विष्णु माझीको ‘घरबार’ यस वर्षको सर्वाधिक हेरिएको तीज गीत बनेको छ।
एलिना चौहानको ‘नौरती फुली’लाई पछि पार्दै ‘घरबार’ले यो रेकर्ड बनाएको हो। सार्वजनिक भएको १३औँ दिनमा ‘घरबार’ले भ्युजमा अग्रता लिएको हो।
यसअघि साउन १ गते सार्वजनिक भएको ‘नौरती फुली’ यस वर्ष सबैभन्दा धेरै हेरिएको तीज गीत थियो। तीजको अघिल्लो दिन करोड भ्युज पार गर्दै यो गीत यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीत बनेको थियो।
मंगलबार साँझसम्म ‘घरबार’ले १ करोड १७ लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ। यो ‘नौरती फुली’भन्दा करिब ४२ हजार भ्युजले अगाडि रहेको छ।
‘घरबार’ विष्णु माझीको चर्चित तीज गीति एल्बम ‘पुतलीको भट्टी–२२’ मा समावेश गीत हो। गीतमा विवाहित महिलाले भोग्ने पीडा र वेदनालाई प्रस्तुत गरिएको छ।
गीतमा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ। भिडियोमा सुन्दरमणि अधिकारी र ललिता पौडेलले अभिनय गरेका छन्। सुन्दरमणिको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।






