काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार तीजको दिन मन्दिरका चारै ढोका खुला रहनेछन्।
व्रतालु तथा दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन मन्दिरको उत्तर, पूर्व र दक्षिणतर्फ पारदर्शी जालीको व्यवस्था गरिएको छ। यसपटक विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था भने नगरिएको कोषले जनाएको छ।
भक्तजनको भीड व्यवस्थापनका लागि विभिन्न स्थानबाट छुट्टाछुट्टै प्रवेश मार्ग तोकिएको छ। मित्रपार्क–उमाकुण्ड, गौशाला–जयबागेश्वरी, सिनामंगल–विमानस्थल र पिङ्गलास्थानबाट दर्शनार्थीलाई प्रवेश गराइनेछ।
मन्दिरबाहिर पाँचवटा र मन्दिर परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। परिसरभित्र उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन्। प्रत्येक पटक आठ जना भक्तजनलाई दर्शनका लागि पठाइने व्यवस्था गरिएको छ।
तीजका दिन सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ। भीड व्यवस्थापन तथा सुरक्षा निगरानीका लागि विशेष कमान्ड पोस्ट स्थापना गरिएको छ भने पाकेटमारीलगायतका घटना नियन्त्रण गर्न दुई दिनअघिदेखि नै सादा पोसाकमा प्रहरी परिचालन गरिएको कोषले जनाएको छ।
पशुपति क्षेत्रको कोर एरियामा पुरुष प्रवेशमा रोक लगाइएको छ। नियमित रूपमा पशुपतिनाथ दर्शन गर्ने पुरुष दर्शनार्थीले भने बिहान ५ः३० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, पशुपति क्षेत्र आसपास मांसाहार तथा मदिरा सेवनमा समेत रोक लगाइएको छ। पासको व्यवस्था नभए पनि काठमाडौं महानगरपालिका–८ का स्थानीय बासिन्दाका लागि स्थानीय पासको सुविधा उपलब्ध गराइएको छ।
कोषले तीजका अवसरमा पशुपति दर्शनका लागि आउने सबै भक्तजनलाई तोकिएको प्रवेश मार्ग, सुरक्षा व्यवस्था तथा अनुशासन पालना गरी सहज रूपमा दर्शन गर्न आग्रह गरेको छ।






