नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौंमा सम्पन्न सभामा संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आगामी दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलन समावेश नगरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई ‘लेट इन्ट्री’मार्फत भए पनि समावेश गराउन प्रयास भइरहेको जानकारी दिनुभयो।
यसअघिका राष्ट्रिय खेलकुदमा नियमित रूपमा सहभागी हुँदै आएको ट्रायथलनलाई प्राविधिक कारण देखाउँदै आगामी प्रतियोगितामा हटाइएको संघको भनाइ छ। सम्बन्धित निकायसँग छलफल भइरहेको र ट्रायथलन समावेश गर्ने विषयमा सरोकारवाला सकारात्मक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
यस्तै, जापानको आइची–नागोयामा हुने आगामी एसियाली खेलकुदमा नेपालबाट चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलनका प्राविधिक अधिकारीका रूपमा सहभागी हुने बताइएको छ।
साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देशमार्फत नेपालमा आएको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै नेपालसँग ऐक्यबद्धता जनाउनुभयो। विश्व ट्रायथलन संघले बाढीपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
सभामा महासचिव युवराज सुनारले वार्षिक कार्यक्रम तथा योजना र कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आयव्यय प्रस्तुत गर्नुभयो।






