काठमाडौं । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज ‘दर’ खाएर औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्पराअनुसार देशभरका महिला दर खाने तयारीमा छन्।
परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। व्रतका दिन निराहार बस्नुपर्ने भएकाले दरमा दूधबाट बनेका तथा पौष्टिक र आडिला परिकार खाने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
हरितालिका तीज चार दिनसम्म मनाइन्छ। दर खाएपछि सुरु हुने पर्वमा तीजका दिन निराहार व्रत तथा शिव–पार्वतीको पूजा गरिन्छ भने गणेश चौथी र ऋषि पञ्चमीको पूजाआराधनासँगै पर्व समापन हुन्छ।
पौराणिक मान्यताअनुसार हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन निराहार व्रत बसेको सम्झनामा तीजको व्रत बस्ने परम्परा सुरु भएको हो। पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको विशेष भीड लाग्ने गर्छ।
पछिल्लो समय तीजको नाममा महिनौँअघि नै भोज तथा पार्टी आयोजना गर्ने, गरगहना प्रदर्शन गर्ने र अत्यधिक तडकभडक बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले भने चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले पर्वको सांस्कृतिक र धार्मिक मर्यादा कायम राख्न आग्रह गरेका छन्।






