काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ। प्रभावित जिल्लाबाट प्राप्त विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३०, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
मृतकको वैज्ञानिक पहिचानका लागि हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान नखुलेका शवको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
हालसम्म पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी १ हजार २३० शव व्यवस्थापन गरिएको छ। बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा २ हजार ७१२ विस्थापित तथा प्रभावित आश्रय लिएर बसेका छन्।












