काठमाडौं । लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि ठप्प भएको छ।
नुवाकोटको बेत्रावती–१० सिमटारमा आएको बाढीले पासाङ ल्हामु सडकखण्ड अवरुद्ध पारेको छ। यस्तै, टोखा–छहरे सडकको शिवपुरी–८ घट्टेखोला क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
बीपी राजमार्गको काभ्रे खण्डमा भने अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न दिइएको छ। कर्णाली प्रदेशमा कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।






