काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिले राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए क्षमा मागेकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफूले बोलेका तथ्यगत विषयले कसैलाई चोट पुगेको भए आगामी दिनमा यस्ता विषयमा थप सतर्क रहने बताइन्। उनले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।”
गौतमले आफूले राष्ट्रिय सभाले कानुन निर्माणमा असहयोग गरेको भन्ने शब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताइन्। जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा आफूले तथ्यभन्दा बाहिर गएर कुनै कुरा नबोलेको उनको भनाइ छ।
उनले कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीच सहकार्य अनिवार्य रहेको बताइन्।“प्रतिनिधिसभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,” उनले भनिन्।
आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको उल्लेख गर्दै गौतमले आफूले नबोलेका कुराको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारिन्।
उनले आगामी दिनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता जनाइन्।






