काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ ।

बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ ।

ADVERTISEMENT

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घर सम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गरिन् । ओलीलाई नै सधैँका लागि पन्छाउने उद्देश्यसमेत रहेको उनको भनाइ थियो ।

ADVERTISEMENT

‘हाम्रो घर सम्पत्तिमात्र जलाउने योजना खरानी ग्याङको थिएन होला । मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर हामी बच्न सफल भयौँ,’ उनले भनिन् ।

गत वर्ष नै आफूहरूलाई मारिएको भए अहिले कालो दिवससँगै आफ्नो मृत्युको वर्षको पुण्यतिथि मनाइरहेको अवस्था हुने उनले बताइन् ।

शाक्यले आफूहरूमाथि विभिन्न बहाना बनाएर मानसिक तनाव दिने काम अझै नरोकिएको गुनासो गरिन् । आफूहरू बिना कसुर अपराधी भएको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन् ।

‘एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छोडेका छैनन्,’ उनले भनिन् ।

आफूसँग रहेका विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालयसमेत स्थापना गर्ने आफ्नो इच्छा रहेको उनले बताइन् । तर बालकोटको घरमा भएको आगजनीसँगै ती सबै सपना खरानी भएको उनको भनाइ थियो ।