काठमाडौं । बाढीपीडितका परिवारलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको पाइए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल साधारण सदस्यसमेत नहुने गरी निस्काशन गर्ने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सभापति रवि लामिछानेले यसप्रकारका कार्य गरेको पाइए कसैलाई माफी नहुने बताए। उनले भने, ‘आफन्त गुमाएर पीडामा रहेकाहरुले भगवानलाई त सराप्छन् भने यो सरकार र रास्वपा के हो ?’

ADVERTISEMENT

सरकारले उद्धारका लागि कति शक्ति प्रयोग गरेको छ भन्नेतर्फ पीडितहरुको ध्यान नगएको हुन सक्ने बताउँदै सपभाति लामिछानेले उनीहरुको एउटै आशा आफ्नो मान्छेको सास बाँकी रहँदै सरकार उनीहरुसम्म पुगिदियोस र उद्धार गरिदिओस् भन्ने रहेको उल्लेख गरे ।

ADVERTISEMENT

आफन्तको आशा खोजिरहेकाहरुले राज्यसँग अपेक्षा गर्दै आश खोज्नु स्वभाविक भएको बताउँदै उनले महाविपतको यो समयमा सामाजिक सञ्जालमा तुच्छ टिकाटिप्पणी र कटाक्ष गर्ने काम आजै र अहिल्यैबाट बन्द गर्न कार्यकर्ता र शुभेच्छुक सबैलाई आग्रह गरे ।

यसप्रकारका कार्यप्रति निर्मम हुन सरकारलाई आग्रह गर्दै सभापति लामिछानेले उनीहरुविरुद्ध तत्काल कठोररुपमा प्रस्तुत हुन अपिल गरे। उनले भने, ‘यसप्रकारको कार्यमा संलग्न रहेको पाइयो भने तत्काल पार्टीबाट निस्काशन गरिनेछ। यसप्रकारका हृदय नभएकाहरुका लागि रास्वपामा कुनै स्थान छैन ।’

ADVERTISEMENT