काठमाडौँ । बैंकिङ क्षेत्रका नियमित खर्च बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मध्य–जुलाई २०२५ देखि मध्य–जुलाई २०२६ सम्म बैंक तथा फाईनान्स कम्पनीहरुमा कर्मचारी खर्च बढेपनि कार्यलय व्यवस्थापन खर्च स्थिर देखिएको छ ।
मध्य–जुलाई २०२५ देखि मध्य–जुलाई २०२६ सम्ममा बैंकिङ क्षेत्रको कुल कर्मचारी खर्च ६८ अर्ब ११ करोड ८० लाख रुपैयाँबाट बढेर ७१ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सो अनुसार पछिल्लो एक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्मचारी खर्च करिब चार दशमलव ९३ प्रतिशतले बढेको छ । तर, कार्यालय सञ्चालन खर्च भने पछिल्लो अवधिमा ४३ अर्ब ४६ करोड ८० लाख रुपैयाँबाट घटेर ४३ अर्ब ३८ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ । रकमका आधारमा बैंकिङ क्षेत्रको कर्मचारी खर्च करिब आठ करोड ५० लाख रुपैयाँले घटेको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा मात्र पनि कर्मचारी खर्च उल्लेख्य रूपमा बढेको छ । मध्य–जुलाई २०२५ मा ६० अर्ब ३१ करोड रुपैयाँ रहेको कर्मचारी खर्च मध्य–जुलाई २०२६ मा बढेर ६२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यो कुल कर्मचारी खर्चको चार दशमलव ४१ प्रतिशतको बृद्धि हो । यसको विपरीत बाँणिज्य बैंकहरुको कार्यालय सञ्चालन खर्चमा भने खासै परिवर्तन नदेखिएको राष्ट्र बैंकको भनाई छ ।
२०२५ को मध्य–जुलाईमा ३७ अर्ब १५ करोड ५० लाख रुपैयाँ रहेको कार्यालय व्यवस्थापन खर्च २०२६ मा ३७ अर्ब २० करोड ७० लाख रुपैयाँ पुगेको छ । यो बृृद्धि भने कुल कार्यालय व्यवस्थापन खर्चको शुन्य दशमलव १४ प्रतिशतको मात्र बृद्धि हो, राष्ट्र बैंकले भनेको छ ।
विकास बैंकहरूमा पनि पछिल्लो अवधिमा कार्यालय सञ्चालन खर्चमा सामान्य वृद्धि देखिएको छ ।
मध्य–जुलाई २०२५ मा चार अर्ब ९६ करोड ६० लाख रुपैयाँ रहेको कार्यायल सञ्चालन खर्च २०२६ को मध्य–जुलाईमा बढेर चार अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो भनेको कुल खर्चको शुन्य दशमलव २६ प्रतिशको मात्र बृद्धि हो ।
राष्ट्र बैंकका अनुसार २०२५ मा विकास बैंककहरुको कुल कर्मचारी खर्च भने छ अर्ब ४३ करोड २० लाख रुपैयाँ थियो । सन् २०२६ मा भने यस्तो खर्च बढेर सात अर्ब तीन करोड ५० लाख रुपैंयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुुसार फाईनान्स कम्पनीहरुमा पनि पछिल्लो अवधिमा कर्मचारी खर्च एक अर्ब ६५ करोड ५० लाख रुपैयाँबाट बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । सो अनुसार फाईनान्स कम्पनीहरुमा कुल कर्मचारी खर्च छ दशमलव ३४ प्रतिशतले बढेको छ ।
तर कार्यालय सञ्चालन खर्च भने एक अर्ब ३४ करोड ७० लाख रुपैयाँबाट घटेर एक अर्ब १९ करोड ७० लाख रुपैयाँमा आएको छ । सो अनुसार पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुको कार्यालय व्यवस्थापन खर्चमा ११ दशमलव १४ प्रतिशतले कमी आएको छ ।






