काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको मुक्तिनाथ विकास बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
प्रारम्भिक सम्झौताअनुसार अब प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कनको प्रक्रिया अघि बढाइनेछ। यसक्रममा तीनवटै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था, शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक विषयको अध्ययन गरिनेछ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम रूपमा कार्यान्वयन हुनेछ।
प्राप्ति सम्पन्न भएमा मुक्तिनाथ विकास बैंकको संस्थागत क्षमता तथा व्यवसायको आकार थप विस्तार हुने अपेक्षा गरिएको छ।






