दैलेख ।दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विहीन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले नयाँ नेतृत्व पठाउन नसक्दा सर्वसाधारण नागरिकका दैनिक कामकारबाही नराम्ररी प्रभावित भएका छन्।
दशैँ सकिएर तिहार नजिकिँदै गर्दा समेत जिल्ला प्रशासन कार्यालय नेतृत्वविहीन हुँदा जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब, जीवन निर्वाह भत्ता र दैवी प्रकोप पीडितको राहत तथा क्षतिपूर्ति भुक्तानी पूर्ण रूपमा रोकिएको छ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि गृह मन्त्रालयले नयाँ प्रजिअ नपठाउँदा हाल जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीको भरमा सञ्चालन भइरहेको छ।
सहायक प्रजिअ शाहीका अनुसार प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक अधिकार प्रयोग गर्ने तथा कानुनबमोजिमका ठूला मुद्दा हेर्ने र फैसला गर्ने अख्तियारी आफूलाई नभएकाले सेवा प्रवाहमा कठिनाइ भएको छ।
प्रजिअको अनुपस्थितिका कारण प्रशासन कार्यालयका २२ जना कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् भने जीवन निर्वाह भत्ता पाउने ३० जना लक्षित वर्गको काम रोकिएको छ।
लेखापाल रूपाखेतीका अनुसार कानुनी प्रक्रियाअन्तर्गतका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले पाउने आर्थिक सहायता तथा दैवी प्रकोप पीडितहरूले प्राप्त गर्ने राहत रकमको भुक्तानी पूर्ण रूपमा ठप्प बनेको छ।
भौगोलिक दृष्टिले संवेदनशील मानिने दैलेखमा कर्णाली राजमार्ग, दैलेख-सुर्खेत सडक खण्ड र मध्यपहाडी राजमार्ग भएर हुने दैनिक यातायात आवागमन तथा चाडपर्वका बेला सुरक्षा व्यवस्थापनका लागि निरन्तर जिम्मेवार नेतृत्व र प्रशासनिक समन्वयको आवश्यकता पर्छ। तर, लामो समयदेखि नेतृत्व नहुँदा जिल्लाको शान्ति सुरक्षाको अवस्थासमेत जोखिमपूर्ण बन्दै गएको छ।
उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले नागरिकका आधारभूत कामकारबाही र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले तत्काल जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाउनुपर्ने माग गरेका छन्।










