काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको दाबी गरेका छन्।
प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उप्रेतीले हेलिकप्टरबाट मात्रै पुग्नुपर्ने स्थानबाहेक अन्य प्रभावित क्षेत्रमा राहत पुर्याइएको जानकारी दिए। अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएकाले दुर्गम क्षेत्रमा हवाई माध्यमबाट राहत सामग्री पठाउन केही कठिनाइ भएको उनको भनाइ छ।
हेलिकप्टरबाट राहत लैजानुपर्ने स्थानमा त्रिशूली, रसुवा लगायतका नजिकका क्षेत्रमा खाद्य सामग्री पुर्याएर त्यहाँबाट प्रभावित क्षेत्रमा पठाउने प्रयास भइरहेको उनले बताए। राहत वितरणका लागि स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए।
उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ। तीनवटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै सक्रिय रूपमा उद्धार तथा खोजीमा काम गरिरहेका छन्।
यसैबीच, सामाजिक सञ्जालमा राहत तथा उद्धारसँग सम्बन्धित भ्रामक भिडियो फैलिएको भन्दै उप्रेतीले त्यस्ता सामग्री शेयर नगर्न आग्रह गरेका छन्। घटनास्थलमै नभएका फेक भिडियोले जनमानसमा नकारात्मक प्रभाव पारिरहेको उनले बताए।
बेपत्ता व्यक्तिको विवरण प्राप्त हुनेबित्तिकै सुरक्षा निकायमार्फत त्यसको पुष्टि गरी खोजी टोली परिचालन गरिएको उनको भनाइ छ। खोज तथा उद्धार कार्य टुंगोमा नपुगेसम्म बेपत्ताको खोजीलाई निरन्तरता दिइने उनले स्पष्ट पारे।
छिमेकी मुलुकहरूसँग समेत समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको प्राधिकरणले जनाएको छ।








