काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ।
रसुवाको ल्हेन्दे खोलाबाट भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। तीमध्ये ११ वटा आयोजनाका कर्मचारी तथा मजदुर बेपत्ता भएका थिए।
अहिले ६ वटा आयोजनाका सुरुङमा उनीहरूको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोली सक्रिय छ। नेपाली सेनाको ‘कम्पोजित क्विक रिएक्सन टिम’सँगै विदेशी टोलीसमेत खोजीमा खटिएको छ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाको टोली सुरुङभित्रै प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा नेपाली तथा विदेशी टोलीले संयुक्त रूपमा खोजी गरिरहेका छन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि त्यहाँ खटिएका छन्। चिलिमे आयोजनाको सुरुङसम्म उपकरण पुर्याउन शुक्रबार सडक खोलिएको छ।
बाटो बनेपछि एक्जाभेटर र लोडरको प्रयोग गरी सुरुङभित्र थुप्रिएको ढुंगामाटो तथा हिलो हटाउने काम सुरु गरिएको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ‘अडिट–१’ सुरुङमा पनि खोजी जारी छ।
सुरुङको करिब २०० मिटर क्षेत्र ड्रोनमार्फत निरीक्षण गर्दा अहिलेसम्म केही फेला नपरेको सेनाले जनाएको छ। त्यसैगरी, त्रिशूली–३ ‘ए’ को विद्युत्गृह तथा सुरुङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी टोलीसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’ मा पनि संयुक्त टोली परिचालन गरिएको छ। खोज तथा उद्धार भइरहेका ६ वटै आयोजनाका सुरुङभित्र कर्मचारी तथा मजदुर फसेको हुन सक्ने अनुमान गरिएको छ।






