काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक वा जोखिमपूर्ण परिस्थितिका कारण रोक्न नहुने बताएका छन्।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले चुनौतीपूर्ण अवस्थाका बाबजुद हराइरहेका व्यक्तिको खोजी तथा उद्धारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन्।

ADVERTISEMENT

‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ उनले भने।

ADVERTISEMENT

उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा अन्य जनशक्तिले आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर प्रभावित नागरिकको उद्धार गरिरहेको भन्दै उनले प्रशंसा गरे।

‘उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ,’ राष्ट्रपति पौडेलले भने।उनले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सम्बन्धित मित्रराष्ट्रका सरकार र कूटनीतिक नियोगसँग आवश्यक सहकार्य गर्ने पनि बताए।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले विपद्को समयमा खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गर्ने छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरे। उनले विपद्को सामना गर्न नेपाललाई प्राप्त भइरहेको अन्तर्राष्ट्रिय सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा समेत जोड दिएका छन्।