काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति भएका जलविद्युत आयोजनाका सुरुङ (टनेल)मा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारबाट काम रोक्ने निर्णय नभएसम्म टनेलभित्रको खोज तथा उद्धार कार्य नरोकिने बताएका हुन्।
सेनाका अनुसार बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान गरिएको छ। रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ।
त्यस्तै, त्रिशूली–३ ए को पावरहाउस तथा टनेलमा उद्धार उपकरणसहित नेपाली सेनाको टोली निरन्तर खोजीमा खटिएको थापाले बताए। त्रिशूली–३ बीमा अडिट–२ बाट प्रवेश गरी अडिट–१ बाट निस्किएको र अडिट–२ टनेलबाट एक्साभेटरसहितका उपकरण लैजान सक्ने गरी बाटो निर्माण भइरहेको छ।
चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उपकरण प्रयोग गरेर लेदो हटाउने काम गरिरहेको छ भने माथिल्लो त्रिशूली–१ मा पनि विदेशी प्राविधिकसहितको टोलीले थप खोजी गरिरहेको सेनाले जनाएको छ।
थापाका अनुसार आयोजनाका टनेलमा भएको क्षतिको प्रारम्भिक आकलन गर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ।






