काठमाडौं । कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ। बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको हो।
PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने जनाएको छ। यसले बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले PCAF मा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए। उनका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जन बुझ्न सकेमा जलवायु रणनीति सुदृढ बनाउन, पारदर्शिता बढाउन तथा तथ्यमा आधारित वित्तीय निर्णय लिन सहयोग पुग्नेछ।
कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ। PCAF सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको विश्वव्यापी पहल हो। हाल ६०० भन्दा बढी वित्तीय संस्था यस पहलमा आबद्ध भइसकेका छन्। सहभागी संस्थाहरूले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्न साझा विश्वव्यापी मापदण्ड प्रयोग गर्छन्।






