काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको क्याम्पमा बाढीपछि बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले खोज तथा उद्धार कार्य तीव्र बनाउन माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

बाढी आएको लामो समय बितिसक्दा पनि आयोजनास्थलमा खोज तथा उद्धार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रदर्शनकारीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

ADVERTISEMENT

प्रदर्शनमा सहभागी सुमन नयाँजूले उपलब्ध स्रोत, साधन र प्रविधिको अधिकतम प्रयोग गरी उद्धारलाई तत्काल तीव्र बनाउनुपर्ने बताए। भौगोलिक कठिनाइ भए पनि आवश्यक स्रोत–साधन जुटाएर उद्धारमा ढिलाइ गर्न नहुने उनको भनाइ छ।

ADVERTISEMENT

उनले निजी क्षेत्र तथा अन्य पक्षले उद्धारमा सहयोग गर्न चाहँदा सुरुवाती दिनमा पर्याप्त अनुमति र समन्वय हुन नसकेको गुनासो गरे। उनका अनुसार सातौँ–आठौँ दिनपछि मात्रै निजी क्षेत्रलाई समेत उद्धारमा सहभागी हुन सहज वातावरण बनेको थियो।

नयाँजूले त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा खोजी कार्य अत्यन्तै सुस्त रहेको दाबी गर्दै बाढीले पुरिएका भवन, आवास तथा कार्यालय क्षेत्रमा थप प्रभावकारी रूपमा खोजी गर्न माग गरे।

ADVERTISEMENT

सरकार चुक्यो वा चुकेन भन्ने विषयभन्दा अहिले बेपत्ता व्यक्तिको खोजी र उद्धारलाई प्राथमिकता दिनुपर्ने उनले बताए। सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गरेको र जीवितै उद्धारसमेत गरेको उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतको अधिकतम परिचालन गर्न आग्रह गरे।

बेपत्ता परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर उनीहरूको सुझाव र आवश्यकतालाई ध्यानमा राखी खोजी कार्य अघि बढाउन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन्।