काठमाडौं । अष्ट्रेलियामा जारी तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दक्षिण अष्ट्रेलियाको टोलीसँग १३८ रनले पराजित भएको छ ।

गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । २६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ भने २२.१ ओभरमै १२१ रनमा अलआउट भयो ।

ADVERTISEMENT

नेपाल ‘ए’ का लागि रासिद खानले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर मयन यादवले २०, दीपक डुम्रेले १८ तथा अनिल शाहले ११ रन बनाए । नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ADVERTISEMENT

दक्षिण अष्ट्रेलियाका लागि स्पेन्स जोन्सनले ३ विकेट लिए । क्याम्पबेल थोम्पसन र हाइडेन चिलरले समान २–२ विकेट लिँदा हान्नो ज्याकब र लाच्लान ब्याङ्सले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाका लागि ओपनर दाउथतेज होजेनबोइजेमले १११ रनको शतकीय पारी खेले । उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।

ADVERTISEMENT

ज्याक कियोगले १७, थोमस ब्राउनले १३, जेर्रसिस वाडियाले २९ तथा लाच्लान ब्याङ्सले ४२ रन बनाए ।

नेपाल ‘ए’ का लागि रासिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बमले समान १–१ विकेट हात पारे ।

आजको खेलमा नेपालका कुशल भुर्तेल ह्यामस्ट्रिङ तथा आकाश चन्द काफमा चोट लागेका कारण टोलीमा थिएनन् ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित भएको थियो ।