काठमाडौँ । बाढी प्रभावित रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विपद्बाट प्रभावित नागरिकलाई देशभित्रैबाट सहयोग जुटाउने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धार तथा राहत सामग्रीसमेत प्राप्त भइरहेको उनले जानकारी दिएका छन् ।

नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत सामग्री पुर्‍याइसकेको छ । काठमाडौँको त्रिभुवन विमानस्थलस्थित वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ ।

ADVERTISEMENT

मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकमा राहत सामग्री पुर्‍याइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

ADVERTISEMENT

रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालनमा ल्याइएका २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

राहत वितरणलाई थप प्रभावकारी बनाउन भण्डारण गरिएका राहत सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तथा बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।