काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।
तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत्गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
अब उक्त सुरुङमार्फत उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको अवस्था बुझ्ने तयारी गरिएको छ। यो सुरुङबाट मानिस भित्र प्रवेश गर्न सक्ने भएकाले फसेका कर्मचारीको उद्धार गर्न सकिने श्रेष्ठले बताए।
‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ। चाँडै उद्धारको प्रयास भइरहेको छ।’
यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल गरी प्वाल बनाएको थियो। उद्धारस्थलमै रहेका सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि ‘केबल एक्सेस टनेल’ भेटिएको जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म ड्रिल गर्ने तथा सुरुङभित्रको अवस्था बुझ्ने प्रयास भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी गएको दुई दिनपछि शुक्रबारदेखि मात्रै सुरुङमा फसेका कर्मचारीको उद्धार सुरु गरिएको थियो।
पाँच दिनसम्म सुरुङ छिचोल्न नसकिएपछि भित्र फसेकाहरूको अवस्थाबारे चिन्ता बढेको थियो। आयोजनाको भूमिगत विद्युत्गृहमा ओभरहलिङको काम गरिरहेका करिब ४०–४२ जना प्राविधिक जनशक्ति तथा उच्च तहका विज्ञहरू सुरुङभित्र फसेको अनुमान गरिएको छ।






