काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। कम्पनीका अनुसार यसअघि प्रदान गरिएको तीनदिने निःशुल्क सेवाको अवधि सकिएपछि शनिबारदेखि थप एक सातासम्म सेवा निरन्तर रहनेछ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले यसअघि तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल तथा १०० वटा एसएमएस उपलब्ध गराएको थियो। विपद्को समयमा परिवार तथा आफन्तसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहत कार्यमा समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको कम्पनीले जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्का बेला सञ्चार सेवाको महत्वपूर्ण भूमिका हुने भएकाले प्रभावित नागरिक तथा उद्धारमा खटिएका टोलीलाई सहयोग पुर्‍याउन निःशुल्क सेवा जारी राखिएको बताए।

ADVERTISEMENT

यसैबीच, बाढीका कारण प्रभावित भएका एनसेलका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ। थप ९ वटा प्रभावित टावरलाई पनि पुनः सञ्चालनमा ल्याउने काम भइरहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोगसमेत गरेको छ।

ADVERTISEMENT

कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।