काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘बझाङका बाघ’ले ‘रोड टु यूएफसी सिजन–५’को फाइनलमा स्थान बनाउँदै नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

चीनको सांघाईमा शुक्रबार भएको पुरुष बान्टमवेट सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।

मर्डोकविरुद्धको जितसँगै ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनल जित्न सके उनले विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स (एमएमए) संस्था यूएफसीमा प्रवेश गर्ने अवसर प्राप्त गर्नेछन्।

ADVERTISEMENT

ढाँटले यसअघि गत मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै उनी फाइनलसम्म पुगेका हुन्।

ADVERTISEMENT

मर्डोकविरुद्धको सेमिफाइनलअघि ढाँटको व्यावसायिक एमएमए रेकर्ड १० जित र १ हार थियो। मर्डोक भने ८–० को अपराजित रेकर्डसहित प्रतिस्पर्धामा उत्रिएका थिए।

ADVERTISEMENT

‘रोड टु यूएफसी’ एसियाली एमएमए खेलाडीलाई यूएफसीमा प्रवेश गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता हो। प्रत्येक तौल समूहका विजेताले यूएफसीसँग सम्झौता गर्ने अवसर प्राप्त गर्छन्।

ढाँटको ऐतिहासिक फाइनल यात्राले नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने अपेक्षा गरिएको छ।