काठमाडौं । विपद् प्रभावित क्षेत्रको वास्तविक अवस्थाको नक्सांकन तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन रोबोटिक्स एसोसिएसन अफ नेपालले ड्रोनबाट संकलित तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ।
आरएएनअन्तर्गतको ड्रोन र्यापिड रेस्पोन्स टिम (डिआरआरटि) ले जारी विपद् प्रतिकार्यका क्रममा विभिन्न व्यक्ति तथा संस्थाले ड्रोनमार्फत संकलन गरेका स्थलगत तथ्यांक एकीकृत गर्न लागेको हो। संकलित तथ्यांकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय लाई प्रभावित क्षेत्रको नक्सांकन तथा उद्धार र राहत स्रोत परिचालनमा सहयोग पुर्याउने उद्देश्यले प्रयोग गरिने जनाइएको छ।
डिआरआरटिले सञ्चारमाध्यम, अनुसन्धानकर्ता, स्वतन्त्र ड्रोन चालक तथा अन्य सम्बन्धित व्यक्ति वा संस्थासँग बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित क्षेत्रका कच्चा तथा प्रशोधित हवाई तस्बिर र भिडियो उपलब्ध गराउन आग्रह गरेको छ।
त्यस्तै, अर्थोमोजाइक नक्सा, उचाइसम्बन्धी तथ्यांक, जीपीएससहितका उडान विवरण तथा क्षति मूल्यांकनसम्बन्धी दृश्य सामग्री पनि उपलब्ध गराउन सकिने जनाइएको छ। प्रभावित क्षेत्रका पूर्वाधार, बस्ती, सडक तथा आवतजावत र उद्धारका सम्भावित मार्ग देखिने सामग्रीलाई समेत प्राथमिकतामा राखिएको छ।
डेटासँगै स्थान, खिचिएको मिति तथा समय, ड्रोन चालकको विवरण र प्रयोग गरिएको उपकरणलगायत परियोजनासम्बन्धी मेटाडाटा उपलब्ध गराउन डिआरआरटिले अनुरोध गरेको छ।
डिआरआरटिका अनुसार प्राप्त सबै तथ्यांकलाई संकलन, भौगोलिक रूपमा सन्दर्भित (जियो–रेफरेन्स) र व्यवस्थित गरी प्राप्त भएको २४ घण्टाभित्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणर गृह मन्त्रालयसँग साझा गर्ने प्रतिबद्धता गरिएको छ। यसले राष्ट्रिय प्रभावित क्षेत्रको नक्सामा तथ्यांकलाई प्रत्यक्ष रूपमा समावेश गर्न सहयोग पुग्ने जनाइएको छ।
डिआरआरटिले प्रत्येक ड्रोन उडानबाट प्राप्त तथ्यांकले प्रभावित क्षेत्रको नक्सालाई थप सटीक बनाउन सहयोग गर्ने जनाएको छ। यस्तो तथ्यांकले उद्धार टोली परिचालन, राहत सामग्री पुर्याउने मार्ग निर्धारण तथा पुनर्निर्माणका प्राथमिकता तय गर्न सहयोग पुग्ने उसको भनाइ छ।
आरएएनले विपद्को समयमा विभिन्न स्रोतबाट प्राप्त ड्रोन डेटा छुट्टाछुट्टै वा ढिलो उपलब्ध हुँदा उद्धार तथा राहतसम्बन्धी निर्णयमा असर पर्न सक्ने भन्दै समयमै डेटा उपलब्ध गराउन आग्रह गरेको छ।
डेटा उपलब्ध गराउन इच्छुक व्यक्ति तथा संस्थाले डिआरआरटीको डेटा सबमिसन लिंक वा जारी गरिएको क्यूआर कोडमार्फत सामग्री पठाउन सक्ने आरएएनले जनाएको छ।






