भोटेकोशीको बाढीले नेपालमा ठूलो मानवीय संकट निम्त्याएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ केन्द्रित भएको छ। विपद्को खबर सार्वजनिक भएलगत्तै छिमेकी भारत र चीनसहित अमेरिका, बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ र विश्व बैंकसम्मले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सहयोगको प्रकृति भने देशअनुसार फरक छ। कसैले तत्काल राहत सामग्री पठाएका छन् भने कसैले नगद सहायता, स्वास्थ्य सामग्री, प्राविधिक जनशक्ति र पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।

भारतले अस्थायी आवासका सामग्री, कम्बल, सरसफाइ सामग्री, बत्ती र औषधिसहित करिब ५० मेट्रिक टन राहत सामग्री उपलब्ध गराएको छ। चीनले आपत्कालीन सामग्री तथा नगद सहयोगको प्रक्रिया अघि बढाउनुका साथै सीमापार मौसम तथा जलविज्ञानसम्बन्धी सूचना आदानप्रदानमा सहकार्य गर्ने जनाएको छ।

ADVERTISEMENT

दक्षिण कोरियाले १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ। बेलायतले ५ मिलियन पाउन्ड र अमेरिकाले ५ लाख अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेका छन्।

ADVERTISEMENT

त्यस्तै, अन्तर्राष्ट्रिय रेडक्रसले १० लाख स्विस फ्र्याङ्क आपत्कालीन सहयोग घोषणा गरेको छ भने विश्व स्वास्थ्य संगठनले औषधि र टेन्ट उपलब्ध गराएको छ। संयुक्त राष्ट्रसंघले पनि मानवीय संयन्त्रमार्फत राहत तथा जनशक्ति परिचालन गरिरहेको छ।

ADVERTISEMENT

दीर्घकालीन पुनर्निर्माणतर्फ विश्व बैंकले २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहायता परिचालन गर्न सक्ने संकेत दिएको छ। एडीबीसहित अन्तर्राष्ट्रिय संस्थाहरूले पनि पुनःस्थापना र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तर तत्कालको उद्धारमा नेपालले विदेशी टोलीभन्दा आफ्नै सुरक्षा संयन्त्रलाई प्राथमिकता दिएको छ। विदेशी सहयोग भने राहत, स्वास्थ्य, पुनःस्थापना र पुनर्निर्माणतर्फ केन्द्रित गर्ने सरकारी नीति देखिएको छ।