काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिँदा राम्रो सन्देश गएको बताएका छन् ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको पनि बताए ।

ADVERTISEMENT

‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्‍याउन मात्रै बन्दिनँ थिए होला नि, पहिल्यै बन्थे । मन्त्री बन्न लाग्थे होला नि । कसैले गलत लेखेर प्रचार गरिदिनुभयो । छलफल गर्दै गर्दा रामहरिजीले छाड्नुपर्छ भनेकै हो । उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि छ,’ शर्माले भने ।

ADVERTISEMENT

समितिको सभापति समितिमै रहेका सदस्यहरूबाट हुने र चाँडै पार्टीले टुङ्ग्याउने उनले बताए ।पार्टी सरकारमा छ भन्दैमा नराम्रो कुराको विरोध गर्न नछाड्ने भन्दै उनले सरकार बाहिर हुँदा पनि राम्रो कामको कांग्रेसले समर्थन गर्ने गरेको जिकिर गरे ।

‘हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौँ। सरकारमा रहँदा पनि कमजोरीका बारेमा हामी प्रहार गर्छौँ। संसदमा बोल्दै गर्दा होस् वा बाहिर बोल्दा पनि । अहिले हामी सरकारमा छौँ। सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुनुपर्छ भन्नेसँग हाम्रो प्रस्ट विमति छ। संसदमा पनि बोलेका छौँ बाहिर पनि बोलेका छौँ,’ उनले भने ।

शर्माले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर जाने कुनै पनि कुरालाई कांग्रेसले स्वीकार नगर्ने बताए । फोन ट्यापिङसम्बन्धी विधेयक ल्याउँदा पनि दुरुपयोग हुने भएकाले सरकार गम्भीर हुनुपर्ने बताए ।

निजामती कर्मचारी विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीको छानबिन गर्न गठित संसदीय छानबिन समितिले तत्कालीन सभापति खतिवडालाई दोषी भने किटान गरेको थिएन। तर, नैतिक जिम्मेवार रहेको औँल्याएको थियो। सोही विषयमा खतिवडाले पदबाट राजीनामा दिने नदिने भन्ने विषयका कांग्रेसभित्र विभिन्न मत सिर्जना भएका थिए। खतिवडाले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए।