तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई लक्षित गर्दै इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ।
इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारण भएको बताइएको छ। भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना तथा दैनिक गतिविधिबारे विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ।
अमेरिकी सुरक्षा निकायहरूले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ। ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख भए पनि ब्यारोन ट्रम्पको हत्याका लागि १ करोड डलर इनाम घोषणा गरिएको विषयलाई इरान सरकारको औपचारिक नीति वा निर्णयका रूपमा स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन।
इरानमाथि अमेरिकाको थप प्रतिबन्ध
यसैबीच, अमेरिका–इरान तनाव थप चर्किँदै गएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानलाई प्राप्त हुने प्रमुख आर्थिक तथा वित्तीय सहयोगको बाटो बन्द गर्ने उद्देश्य रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत नयाँ प्रतिबन्धमा सहभागी हुन आग्रह गरेका छन्।
अमेरिकी कदमप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी सरकारकी प्रवक्ता फातेमा मोहाजेरानीले आर्थिक कठिनाइका बाबजुद राष्ट्रपति र देशको नेतृत्वले परिस्थितिको सामना गर्ने बताएकी छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना पूर्ण रूपमा अस्वीकार नगरिएको बताएका छन्। स्ट्रेट अफ होर्मुजसहित मध्यपूर्वका अन्य क्षेत्रमा आवश्यक परे सैन्य शक्ति प्रयोग गर्न अमेरिका पछि नहट्ने उनको संकेत छ।
होर्मुज बन्द गर्ने इरानको चेतावनी
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले आर्थिक दबाबको अभियान जारी राखे खाडी क्षेत्रबाट हुने सबै तेल निर्यात रोक्न सकिने चेतावनी दिएका छन्। इरानमाथिको अमेरिकी प्रतिबन्धलाई कुनै देशले समर्थन गरे त्यसलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइने उनको भनाइ छ।
यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ। बेलायती समुद्री व्यापार सञ्चालन निकायका अनुसार घटना ओमानको अश शिशाहबाट करिब ९ समुद्री माइल उत्तरपूर्वमा भएको हो। जहाजमा रहेका चालक दलका सदस्य भने सुरक्षित रहेको बताइएको छ।
तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी मंगलबार तेहरान जाने भएका छन्। उनले इरानी अधिकारीहरूसँग स्ट्रेट अफ होर्मुजको अवस्थालगायत क्षेत्रीय तनावका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहतर्फ मानवीय सहायता बोकेर गएका ४० भन्दा बढी जहाजलाई अमेरिकी नौसैनिक नाकाबन्दी पार गर्न अनुमति दिइएको छ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल असिम मुनीरसँगको भेटमा अमेरिकाले इरानप्रतिको आफ्नो भाषा र व्यवहार सुधार्नुपर्ने बताएका छन्। दबाब र धम्कीको नीतिले समस्या समाधान गर्नुको सट्टा थप जटिल बनाउने उनको भनाइ छ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता होसेन मोहिबीले इरानको पूर्वाधारमाथि आक्रमण भए अमेरिकी ऊर्जा आपूर्ति मार्ग र महत्वपूर्ण रणनीतिक स्वार्थमाथि ठूलो स्तरको आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
यसरी अमेरिकी नयाँ आर्थिक प्रतिबन्ध, स्ट्रेट अफ होर्मुजमा बढ्दो तनाव तथा दुवै पक्षबाट आएका सैन्य चेतावनीले अमेरिका–इरान द्वन्द्व थप गम्भीर बन्ने जोखिम बढाएको छ।
प्रशान्त महासागरमा अमेरिकी हमला
यसैबीच, अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेको एउटा पोतमाथि हमला गरेको छ। सोमबार गरिएको उक्त कारबाहीमा दुई जनाको मृत्यु भएको अमेरिकी पक्षले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गतको क्षेत्रीय कमान्डले घटनालाई ‘घातक काइनेटिक स्ट्राइक’ भनेको छ। करिब दुई महिनापछि यस्तो प्रकारको हमला सार्वजनिक भएको यो पहिलो घटना भएको जनाइएको छ।
अमेरिकी प्रशासनले पछिल्लो करिब एक वर्षदेखि सञ्चालन गर्दै आएको अभियानअन्तर्गत ६० भन्दा बढी यस्ता हमला भएको र २१० भन्दा बढी मानिस मारिएको विवरण सार्वजनिक गरेको छ। अमेरिकी सेनाले ती कारबाहीलाई लागुऔषध तस्करी र ‘नार्को–आतंकवाद’विरुद्धको अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ।
तर पछिल्लो घटनामा हमला गरिएको पोतमा लागुऔषध रहेको प्रमाण भने अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छैन। अमेरिकी जनरल फ्रान्सिस डोनोभानले लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कारबाही जारी राख्ने बताएका छन्।
ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूमा यस्ता कारबाही विस्तार गर्न विभिन्न सरकारसँग सहकार्य र सम्झौताको प्रयास गरिरहेको छ। यद्यपि, आलोचकहरूले अमेरिकी सेनाका यस्ता हमलाको कानुनी आधार र प्रभावकारितामाथि प्रश्न उठाउँदै आएका छन्।
पेन्टागनका महानिरीक्षकले यस्ता हमलामा लक्ष्य छनोट गर्ने प्रक्रियासम्बन्धी ढाँचा समीक्षा तथा अनुसन्धान गर्ने भएका छन्।






