काठमाडौं । भारतीय बजारमा चर्चा कमाएको सिएरा ईभी नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ। आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गरिने भएको छ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रिमियम सुविधासहित तयार गरिएको सिएरा ईभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङमा राम्रो प्रतिक्रिया पाएको दाबी गरिएको यो गाडी नेपाली ग्राहकबीच पनि लोकप्रिय हुने कम्पनीको विश्वास छ।
नेपाली सडकको अवस्था र चालकको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको सिएरा ईभीमा दमदार रोड प्रेजेन्स, आकर्षक डिजाइन, उच्च ब्याट्री रेन्ज तथा मजबुत निर्माणलाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।
नाडा अटो शोमा सिएरा ईभीलाई नजिकबाट अवलोकन गर्न सकिनेछ। नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला यसको आगमनले ईभी बजारमा थप प्रतिस्पर्धा र नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।




