काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।

बुधबार आयोजित एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै यसअघि काठमाडौंको लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा आएको छ।

ADVERTISEMENT

गरिमा विकास बैंकले २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा सरेको थियो।

ADVERTISEMENT

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको नयाँ अध्याय सुरु भएको बताए।

उनले बैंकको व्यावसायिक यात्रामा लाखौँ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको योगदान र संस्थागत सुशासन महत्वपूर्ण रहेको बताए।

त्यस्तै, बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त रूपमा अघि बढाउने बताए।

गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा र ५१ एटीएम मार्फत करिब १० लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।