काठमाडौँ । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरौटीमा छाड्ने आदेश दिएको हो ।
अख्तियार र सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र अनुसार दाहालले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहँदा पदीय दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियम विपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न लगाएका थिए ।
उनले एउटै कम्पनीमा ६० प्रतिशतभन्दा बढी लगानी केन्द्रित गरी ‘पम्पिङ र डम्पिङ’ गर्ने कार्यलाई सहयोग पुर्याएको आरोप छ । दाहालले ‘रेगुलेटरी ग्याप’ (नियामकीय छिद्र) को फाइदा उठाई सीमित स्वार्थ समूहलाई पोस्ने गरी निर्णय गरेको देखिन्छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको करिब ४ अर्ब २७ करोड ४४ लाख ७१ हजार रुपैयाँ दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जनमा सहयोग पुर्याएको अभियोग उनीमाथि छ ।
सरकारी पक्षले दाहाल विरुद्ध ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा बिगो कायम गरी सोही बराबरको सजाय र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप सजायको मागदाबी गरेको थियो ।





