काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय रहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम उच्च रहेको बताएका छन्।
सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उनले मनसुनको बाँकी अवधिलाई जोखिम व्यवस्थापनका दृष्टिले संवेदनशील रूपमा लिनुपर्ने बताए।
नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ सम्म करिब एक महिना १४ दिन मनसुन अवधि बाँकी रहेकाले अब ‘काउन्टडाउन’मा जानुपर्ने उनको भनाइ छ।
उप्रेतीका अनुसार यस वर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्यपहाडी क्षेत्रमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै उनले भदौ १ सम्म नेपालमा करिब ८२४ मिलिमिटर वर्षा भएको बताए। नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४७० मिलिमिटर हुने भएकाले हालसम्मको वर्षा औसतको करिब ५५ प्रतिशत हो।
उनले वर्षाको कुल परिमाणभन्दा यस वर्ष यसको वितरण र प्रवृत्ति असामान्य देखिएको बताए। उनका अनुसार आगामी तीन दिनमा पश्चिम नेपालमा भारी वर्षा हुन सक्ने तथा तराई र मधेश क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ।
उप्रेतीले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनो र हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आईओडी) को अवस्थासँग जोडेर हेर्न सकिने बताए। आईओडी सकारात्मक अवस्थामा पुगेमा दसैँ–तिहार आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने भए पनि अहिले नै त्यसबारे निश्चित भन्न नसकिने उनको भनाइ छ।
प्राधिकरणले मनसुनसम्बन्धी सूचना प्रभावकारी रूपमा प्रवाह गर्न एकीकृत सूचना प्रणाली विकास गर्ने तयारी गरेको छ। स्थानीय तहमा डोजर प्रयोग गरेर अनावश्यक रूपमा सडक निर्माण गर्दा वर्षायाममा पहिरोको जोखिम बढ्ने भन्दै उप्रेतीले त्यसतर्फ समेत सचेत हुन आग्रह गरेका छन्।





