काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्दा पुरस्कार योजनामा स्वतः सहभागी हुन सक्नेछन्। ग्राहकले मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्तिको अवस्थासमेत हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ।
बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि र वित्तीय पारदर्शिता थप सुदृढ गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।





