चितवन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
आइतबार बिहान साढे ६ बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । त्यस्तै दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ । बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटना लगत्तै स्थानीय प्रशासन र निकुञ्ज प्रशासनलाई खबर गरिएको थियो। खबर पाउनासाथ निकुञ्जबाट हात्ती र प्राविधिक टोली घटनास्थलमा खटिएको थियो। टोलीको अथक प्रयासपछि बिहान साढे १० बजे बाघलाई ‘डार्ट’ (बेहोस) गरेर नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ ।
बस्तीमा पसेर उपद्रो मच्चाएको बाघ नियन्त्रणमा आएसँगै लामो समयदेखि डर र त्रासका बीच बसेका स्थानीयवासीले राहतको सास फेरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।





