चितवन । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणका लागि लागत इस्टिमेट तयार गर्न निर्देशन दिएका छन् ।

रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरी मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने उनले बताए ।

ADVERTISEMENT

मन्त्री लम्सालले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) चितवनमा आयोजना गर्न सक्ने गरी निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए । हाल रंगशालामा प्यारापिट, मैदान र दुईवटा भीआईपी टावर निर्माणको काम भइरहेको छ ।

ADVERTISEMENT

रंगशालाको पहिलो चरणको निर्माणका लागि भरतपुर महानगरपालिकाले २०८१ असार २४ गते हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

३० महिनाको समयसीमासहित गरिएको सम्झौताको म्याद आगामी पुस २७ गते सकिँदैछ । तर, हालसम्म निर्माणको काम ६८ प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि माग गर्ने तयारी गरेको छ ।

सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा भेरिएसनपछि लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

रंगशाला निर्माणका लागि २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो । त्यसपछि २०७६ मङ्सिरदेखि प्रारम्भिक निर्माण कार्य सुरु गरिएको थियो ।

तर, आर्थिक स्रोत जुटाउन नसकेपछि फाउन्डेसनले २०७८ सालमा निर्माणको काम रोकेको थियो । पछि फाउन्डेसनले रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेपछि महानगरले टेन्डर प्रक्रियामार्फत निर्माणलाई पुनः अघि बढाएको हो ।