काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ५ बिक्री केन्द्रबाट शनिबार दिनभरिमा ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर बिक्री गरेको जनाएको छ। तर, ठूलो संख्यामा उपभोक्ताले ग्यास नपाएको गुनासो गरेका छन्।
एक महिनादेखि ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिने उद्देश्यले नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शनिबारदेखि काठमाडौंका ५ स्थानमा ग्यास बिक्री केन्द्र सञ्चालन गरेको थियो। बिहान ८ बजेदेखि नै ती केन्द्रमा उपभोक्ताको लामो लाइन लागेको थियो।
निगमका अनुसार टेकु परिसरबाट सबैभन्दा धेरै २ हजार २ सय ९० सिलिन्डर बिक्री भएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट ७ सय ६२, चाबहिल यातायात कार्यालय परिसरबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय सिलिन्डर बिक्री भएका छन्।
यी पाँच मुख्य केन्द्रबाट मात्रै ५ हजार ९ सय ७२ सिलिन्डर बिक्री भएका थिए। त्यस्तै, बालाजु काउन्टरबाट ५ सय तथा साल्ट ट्रेडिङका जडिबुटी र कालीमाटी काउन्टरबाट ३ सय ३० सिलिन्डर बिक्री हुँदा कुल वितरण ६ हजार ८ सय २ पुगेको निगमले जनाएको छ।
ब्रान्डअनुसार नेपाल ग्यास सबैभन्दा धेरै १ हजार ७ सय ६० सिलिन्डर बिक्री भएको छ। एभरेष्ट/सुगम १ हजार ४३, एचपी ७ सय ८०, हिमाल ५ सय ४०, सगर ४ सय ६४ र श्रीराम ३ सय २७ सिलिन्डर बिक्री भएका छन्।
त्यसैगरी एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा/श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ सिलिन्डर वितरण गरिएको छ।
सरकारले करिब ७ हजार सिलिन्डर उपभोक्ताको हातमा पुगेको तथ्यांक सार्वजनिक गरे पनि बिक्री केन्द्रमा पुगेका धेरै उपभोक्ता ग्यास नपाएर रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन्। यसले सरकारी वितरण तथ्यांक र उपभोक्ताले भोगेको वास्तविक अवस्थाबीचको दूरीसमेत देखाएको छ।





