हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ।

ADVERTISEMENT

त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य, अनिता निरौलालाई श्रम तथा यातायात र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ।

ADVERTISEMENT

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद, डा. सुमित्रा गौतमलाई स्वास्थ्य र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ।

त्यस्तै कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा. केदार बराललाई वन तथा वातावरण तथा सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिए।

मन्त्रालय गाभिएपछि नयाँ संगठनात्मक संरचना तय गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेको छ। उक्त सर्वेक्षण सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रगत जिम्मेवारी कायम रहने प्रवक्ता तामाङले बताए।