काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंका चाबहिल, टेकुसहित पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गरिने निगमले जनाएको छ। अत्यावश्यक परेका उपभोक्ताले शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
निगमका अनुसार टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ।
त्यस्तै, यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास वितरण हुनेछ।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुने निगमले जनाएको छ।
राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट सुगम, भानु र ओम ग्यास बिक्री हुनेछ।
त्यसैगरी, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम, सगर, हिमाल, केटीसी, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।





