काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ७.६८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानीसमेत बढेको छ। अघिल्लो वर्ष ९ अर्ब ५४ करोड रुपैयाँ रहेको बिक्री आम्दानी बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

कारोबार बढे पनि कम्पनीको बिक्री तथा वितरण खर्चमा उल्लेख्य वृद्धि भएको छ। यस्तो खर्च अघिल्लो वर्षको ३३ करोड ९६ लाख रुपैयाँबाट बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको वित्तीय लागत भने घटेको छ। वित्तीय लागत २९ करोड ६३ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ।

ADVERTISEMENT

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर २१ रुपैयाँ २० पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ।

सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४३ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको उत्पादन लागत गत आर्थिक वर्षमा ७ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। प्रशासनिक तथा अन्य खर्चमा समेत वृद्धि भएको कम्पनीले जनाएको छ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा कच्चा पदार्थको ढुवानी लागत बढ्दा उत्पादन लागतमा दबाब परेको कम्पनीको भनाइ छ। लागत नियन्त्रण गर्दै उत्पादन क्षमताको अधिकतम उपयोग गर्ने र बजार विस्तार गर्ने रणनीति कम्पनीले अघि सारेको छ।