काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा झरेको छ।
परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ। फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेका छन्।
१३ मध्ये नौ उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। बिहीबार तीन अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । शुक्रबार ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा चार अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एग्रीकल्चरल बण्ड (९ वर्षे) कम्पनीको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। खानी खोला हाइड्रोपावर कम्पनीको करिब १८ करोड रुपैयाँ र लिबर्टी इनर्जी कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।





