काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र देशका शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा खानेपानीको पहुँच करिब ९७ प्रतिशत नागरिकसम्म पुगे पनि स्वच्छ खानेपानीको पहुँच भने ३० प्रतिशतमा मात्र रहेको जानकारी दिए ।

सरकारले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको उनले बताए । लक्ष्य पूरा गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

ADVERTISEMENT

सचिव सिग्देलले पानीका मुहान सुक्दै गएको समस्या समाधानका लागि हिमनदीको पानी तराईसम्म पुर्‍याउने आयोजना प्राथमिकतामा राखिएको बताए । त्यसका लागि प्रदेश र स्थानीय तहलाई संघ सरकारले सशर्त अनुदान उपलब्ध गराउने उनले जानकारी दिए ।

ADVERTISEMENT

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी तीन वर्षमा ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।