काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि गरेको छ। विभागले सोमबार एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ।

ई–पासपोर्टको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो। यसअघि विभागको दैनिक उत्पादन क्षमता करिब १ हजार ५०० राहदानी मात्र रहेको थियो।

नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा ई–पासपोर्ट उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको विभागले जनाएको छ।

ADVERTISEMENT

विभागका अनुसार बढ्दो मागलाई ध्यानमा राखेर उत्पादन क्षमता विस्तार गरिएको हो। सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउन क्षमता थप वृद्धि गर्ने कार्यसमेत भइरहेको छ।

ADVERTISEMENT

ई–पासपोर्ट सेवा काठमाडौँमा मात्र सीमित छैन। देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको विभागले जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि ई–पासपोर्ट सेवा लिन सक्ने व्यवस्था छ।

बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले राहदानी उत्पादन तथा सेवा प्रवाहको क्षमता विस्तार गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको जनाएको छ।

पछिल्लो समय उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि गर्दै एकै दिन ५ हजार ८७८ वटासम्म ई–पासपोर्ट उत्पादन गर्न सक्ने अवस्थामा पुगेको विभागको भनाइ छ। विभागले यसलाई ई–पासपोर्ट सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ।

त्यस्तै, ई–पासपोर्ट प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्या समाधानलाई पनि विभागले प्राथमिकतामा राखेको छ। सेवा प्रवाहमा देखिएका प्राविधिक समस्या समाधान गर्दै आगामी तीन महिनाभित्र प्रणालीलाई थप स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ।

सेवाग्राहीले राहदानी प्राप्त गर्न अनावश्यक कठिनाइ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागको भनाइ छ।

प्राविधिक समस्या समाधानसँगै ई–पासपोर्ट सेवा थप सहज, भरपर्दो, सुरक्षित तथा प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।