काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

ADVERTISEMENT

कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।