काठमाडौं। नेपाल–कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा सञ्चालित ‘के–हामी’ परियोजनाले कोरियाबाट फर्केका नेपाली कामदारहरूका लागि पहिलो स्थानीय उद्यमशीलता तालिम सुरु गरेको छ ।
धुलिखेल भिलेज रिसोर्टमा सुरु भएको ‘उन्नत उद्यमशीलता बुटक्याम्प’ ले उनीहरूको व्यावसायिक सोचलाई नेपाली परिवेशमा ढाल्दै दिगो पुनःस्थापना सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
कोरियाबाट फर्केका नेपाली आप्रवासीहरूको स्थिर पुनःस्थापनाका लागि चरणगत समर्थन प्रणाली सुदृढ गर्ने’ कोइकाको एक महत्वपूर्ण परियोजना हो ।
यो सन् २०२३ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत कार्यान्वयन भइरहेको छ । यसले कोरियाबाट फर्किने नेपालीहरूलाई उनीहरूको आप्रवासनको हरेक चरणमा सहयोग पुर्याउँदै सुरक्षित पुनःस्थापनामा गराउँदै आएको छ । यो बुटक्याम्प ‘रिटर्नी इनोभेटर्स फर नेपाल’ कार्यक्रमको एक हिस्सा हो, जसमा आप्रवासन पूर्व र पश्चात् गरी उद्यमशीलता विकासका पाँच चरणहरू समावेश छन् ।
कार्यक्रमको पहिलो दुई चरण दक्षिण कोरियामा सम्पन्न भइसकेको छ, जहाँ ४८ जनाले आफ्नो व्यावसायिक विचार तयार पारेका थिए । तीमध्ये १० जनाले जुलाई २०२५ मा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।
नेपालमा आयोजित तेस्रो चरणको उन्नत बुटक्याम्पका लागि देशभरबाट १३३ आवेदन परेकोमा १४ जनालाई छनोट गरिएको थियो । पाँच दिने आवासीय तालिममा सहभागीहरूले व्यावसायिक सोच, मोडेल, न्यूनतम प्रयोगयोग्य उत्पादन, र प्रयोगकर्ता परीक्षणजस्ता विषयमा प्रशिक्षण लिइरहेका छन् ।






