काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३’ मा अब आइएमई खल्ती लिमिटेड (खल्ती)का प्रयोगकर्ताले सहभागिता जनाउन सक्ने भएका छन् ।

खल्तीले आफ्ना प्रयोगकर्ताका लागि उक्त कार्यक्रममा सहभागिताको व्यवस्था मिलाएको जनाएको छ । यसअनुसार खल्तीमार्फत एक सयभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वत: दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन् ।

कम्पनीकाका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वत: आन्तरिक राजस्व विभागको प्लाटफर्ममा पुग्नेछ । साथै, उपहार कुपन स्वत: सिर्जना हुने र प्रयोगकर्ताले त्यसलाई खल्ती एपमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

सरकारले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउने जनाएको छ । खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न माध्यमबाट जानकारी उपलब्ध गराउने बताइएको छ ।

ADVERTISEMENT

सरकारको यस पहलले बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्न, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्न तथा कारोबारको अभिलेखीकरणलाई सहज बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसबाट औपचारिक अर्थतन्त्रको विस्तार र राष्ट्रिय राजस्व प्रणाली सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।