पोखरा । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीको आधिकारिक डिलर फ्ल्यास मोबिलिटीमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो।

नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

यसबाट गण्डकी प्रदेश तथा आसपासका बीवाईडी ग्राहकले आधिकारिक र गुणस्तरीय बिक्रीपछिको सेवा पाउने अपेक्षा गरिएको छ। सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्।

ADVERTISEMENT

यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त तेस्रो पक्षीय सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टरबाट कम्पनीकै प्राविधिक मापदण्डअनुसार सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा तालिमप्राप्त प्राविधिकको सुविधा पाउनेछन्।

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। उनले ग्राहकको सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट सेवा दिने कम्पनीको जिम्मेवारी रहेको उल्लेख गरे।

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको नयाँ सर्भिस सेन्टर विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि आवश्यक पूर्वाधारसहित निर्माण गरिएको छ। यहाँ चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे रहेका छन्।

सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राखेको छ। यसले ग्राहकको प्रतीक्षा समय घटाउनुका साथै बिक्रीपछिको सेवा थप प्रभावकारी हुने कम्पनीको अपेक्षा छ।

ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा पाउनेछन्। साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा पनि उपलब्ध हुनेछ।

नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सेवा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ।