वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन) लाई लक्षित गरिएको नयाँ कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले यसअघि उनको जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले नयाँ स्वरूपमा नीति अघि सारेको हो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरे ।
उनले यस व्यवस्थालाई धेरै व्यक्तिले मजाकको विषय बनाएको उल्लेख गर्दै सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ‘धेरै दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरे । अदालतको निर्णयपछि प्रशासनले कानूनी सीमाभित्र रहेर नीति समायोजन गरिरहेको उनको भनाइ थियो ।

ADVERTISEMENT

राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार नयाँ आदेशको उद्देश्य जन्मसिद्ध नागरिकताको अधिकारलाई थप सीमित गर्नु हो । उनले विदेशी आतंकवादी संगठनसँग आबद्ध व्यक्तिका सन्तान, विदेशी सरकारको तर्फबाट लबिङ गर्ने वा काम गर्ने व्यक्तिका सन्तानलगायत केही श्रेणीका व्यक्तिलाई यस व्यवस्थाबाट बाहिर राख्ने लक्ष्य रहेको बताए । यसबाट हालसम्म गलत रूपमा जन्मसिद्ध नागरिकताको सुविधा पाउँदै आएका ठूलो सङ्ख्याका व्यक्तिहरू भविष्यमा त्यसका लागि योग्य नहुने उनको दाबी छ ।

ADVERTISEMENT

यसअघि ट्रम्प प्रशासनले जारी गरेको अर्को कार्यकारी आदेशमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वत: अमेरिकी नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको थियो ।

तर तल्लो अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकतासम्बन्धी व्यवस्थाको आधारमा उक्त आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिले जन्मसिद्ध रूपमा नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको थियो । त्यसपछि सर्वोच्च अदालतले पनि तल्लो अदालतको निर्णयलाई सदर गरेको थियो ।