सियोल । जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताएकी छन् ।

ADVERTISEMENT

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैन्य खर्च वृद्धि गर्नुका साथै रक्षा सहकार्य विस्तार गरेको, बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनाथ गरेको र पूर्वआक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढिरहेको आरोप लगाएकी छन् ।

ADVERTISEMENT

उनले हालै जापानले लामो दूरीका टोमहाक क्रुज मिसाइल परीक्षण गरेको तथा फिलिपिन्समा अमेरिकी नेतृत्वमा आयोजित संयुक्त सैन्य अभ्यासमा सहभागी भएको विषयलाई प्रशान्त क्षेत्रमा बढ्दो सैन्य गतिविधिको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

उनको यो प्रतिक्रिया जापानका रक्षामन्त्रीले मंगलबार सार्वजनिक गरेको नयाँ सुरक्षा मूल्यांकन प्रतिवेदनपछि आएको हो । उक्त प्रतिवेदनमा चीन, रुस र उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौती औँल्याउँदै तत्कालको संकटबोधका साथ रक्षा क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको थियो ।

ADVERTISEMENT

किमले जापानको सैन्य विस्तारले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पार्न सक्ने दाबी गर्दै त्यस्तो गतिविधिलाई उत्तर कोरियाले निरन्तर निगरानी गरिरहेको बताइन् । उनले दोस्रो विश्वयुद्धअघिको जापानी सैन्यवादको स्मरण गराउँदै त्यसको पुनरावृत्ति हुन सक्ने संकतप्रति प्योङयाङ सतर्क रहेको उल्लेख गरिन् ।

दोस्रो विश्वयुद्धमा सन् १९४५ मा जापानले आत्मसमर्पण गर्नुअघि कोरियाली प्रायद्वीपमाथि गरेको औपनिवेशिक शासनको प्रभाव अहिले पनि उत्तर र दक्षिण कोरियाको विदेश नीतिमा देखिने गरेको छ । युद्धपछि जापानले अमेरिकासँग सुरक्षा सहकार्य कायम राख्दै आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डाहरू सञ्चालन गर्न दिएको छ ।