भारतमा विद्युतीय कार (ईभी) को बिक्री तीव्र गतिमा बढ्न थालेको छ। बढ्दो इन्धन मूल्य र मध्यपूर्वमा जारी तनावका कारण विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा जुलाई २०२६ मा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको हो।
उद्योग तथ्यांकअनुसार जुलाई २०२६ मा भारतमा विभिन्न १५ ब्रान्डका कुल ३२ हजार ६१४ युनिट विद्युतीय कार बिक्री भएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिमा बिक्री भएका १७ हजार ९५३ युनिटको तुलनामा ८२ प्रतिशत बढी हो।
भारतीय ईभी बजारमा टाटा मोटर्सले आफ्नो अग्रता कायम राखेको छ। कम्पनीले जुलाई २०२६ मा १३ हजार ५८३ युनिट ईभी बिक्री गर्दै वार्षिक आधारमा १०२ प्रतिशत वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष सोही महिनामा टाटाले ६ हजार ७३२ युनिट ईभी बिक्री गरेको थियो।
वृद्धिदरका हिसाबले महिन्द्राले सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको छ। कम्पनीले जुलाई २०२५ मा ३ हजार ४१५ युनिट ईभी बिक्री गरेकोमा यस वर्ष १२५ प्रतिशत वृद्धि गर्दै ७ हजार ६७७ युनिट बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको जेएसडब्लू एमजीको बिक्री भने ४ प्रतिशतले घटेको छ। कम्पनीले गत वर्ष जुलाईमा ५ हजार ९०१ युनिट बिक्री गरेकोमा यस वर्ष ५ हजार ६४२ युनिटमा सीमित भएको छ। मारुती सुजुकी १ हजार ५९० युनिट बिक्रीसहित चौथो र भियतनामी कम्पनी भिनफास्ट १ हजार ४७८ युनिटसहित पाँचौं स्थानमा रहेका छन्। बीवाइडी, हुन्डाई, किया, बीएमडब्लू, मर्सिडिज, टोयोटा, टेस्ला, सिट्रोन, भोल्भो र पर्शेले पनि भारतीय बजारमा ईभी बिक्री गरेका छन्।




