काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गर्नुभएको छ।

गृहमन्त्री गुरुङ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर मृतकका परिवारसँग भेटघाट तथा छलफल गर्नुभएको हो। गृह मन्त्रालय स्रोतका अनुसार परिवारका सदस्यसँग बुधबार दोस्रो चरणको छलफल गर्ने तयारी गरिएको छ।

ADVERTISEMENT

छलफलपछि परिवार पोस्टमार्टमका लागि सहमत भए पनि मृतकका बुबा–आमा अस्पताल आइपुगेपछि थप संवाद गर्ने सहमतिसहित पहिलो चरणको छलफल टुंगिएको स्रोतले जनाएको छ। यसै कारण रवीन्द्र मेहताको शव हालसम्म शिक्षण अस्पतालमै राखिएको छ।

यसअघि परिवारले शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री गुरुङ स्वयं अस्पताल पुगेर संवाद गर्नुभएको थियो।

ADVERTISEMENT

मंगलबार नै गृहमन्त्रीले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्नुभएको थियो। गृह मन्त्रालयका अनुसार पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएका विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा दुवै समुदायका प्रतिनिधिसँग विस्तृत छलफल भएको थियो।