काठमाडौँ । तिब्बती शरणार्थीलाई ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार उनलाई पक्राउ गरेको हो ।
तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
अब उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीले भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी भइरहेको बताए ।
१७ वर्षअघि पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा दायर भएको छ ।




